Friday, March 9, 2012

सत्य-सन्देश Satya Sandesh


सत्य-सन्देश



दोषी माता-पिताका वचन, गुरुजनाSSदेश नि:शेष दोषी

सत्याSSत्मा मित्र दोषी, गृह-परिजनको चाल देखिन्छ दोषी ।
पत्नीको प्रेम दोषी, अमृतमय मिठो वेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी, विधि-वश छ भने आफ्नो दृष्टि दोषी ।।


-कविशिरोमणि लेखनाथ पौड्याल
लालित्य भाग १/७७

Thursday, March 8, 2012

गजल - अन्जान स्नेहा Ghazal Anjan Sneha

गजल

मैले मुर्दा वस्तीमा घर बनाउन चाहिनँ
बैरो, लाटो यो दुनियाँ हँसाउन चाहिनँ

मलाई खेद छैन मेरो जिन्दगीसित
आफ्नो उचाइ अरुसँग नपाउन चाहिनँ

मेरो सडकमा बास हुनुको यही हो कारण
कि मैले तिम्रोजस्तो बाटो समाउन चाहिनँ

म पथ्थर होइन, त्यो कठोर पत्थर
मैले मान्छेसामु आँसु बगाउन चाहिनँ

म भोकै मर्नेछु बरू यही देशमा मर्नेछु
प्रदेशमा पसिना बगाउन चाहिनँ

तिमीले पनि केही सोधेनौ ‘अन्जान’
मैले पनि त्यसै बताउन चाहिनँ ।

-अन्जान स्नेहा (साभार: मधुपर्क चैत २०६८)




अन्य पृष्ठ (Other Pages)

Wednesday, March 7, 2012

फगुआ गीत Faguwa Geet



फगुआ गीत

१. सीताजीके हात कनके पुचकारी रामजीके हाथे खेले होरी
लछुमन अबिर घोरी खेले रंग बनाइ हो हो …. ।।
२. हो हो राम चले केदली बनमे, बाबु लछुमन संग चले
हो हो सिया जानकीके अंगुरीमे चोट लगे
रामजी हउए लरिका, दरद के हरिहेँ
३. हनुमान तडपिओ न जाए हो,
रामजी बनाबले सेत बान्ह, हनुमान तडपिओ न जाए … ।।
झुमर

जमुना तट राम खेलइअ होरी, जमुना तट
केकरा हाथे कनके पुचकारी हो हो
हो हो केकरा हाथे अविर घोरी
जमुना तट राम खेलइअ होरी, जमुना तट
रामजीके हाथे कनके पुचकारी
हो हो सीताजीके हाथे अबिर घोरी
जमुना तट राम खेलइअ होरी, जमुना तट

-सुरेन्द्र कुमार दास
सभार: गोरखापत्र २०६८ फागुन २४ गते बुधबार




    Tuesday, March 6, 2012

    श्रीकृष्ण-भक्तिको रहस्य Shree Krishna Bhakti Ko Rahasya


    श्रीकृष्ण-भक्तिको रहस्य
    (Shree Krishna Bhakti Ko Rahasya)

    -कविशिरोमणि लेखनाथ पौड्याल (Kavi Shiromani Lekhnath Poudyal)

    खोजी गैह्र कुना कुना धरणीका, छामी सबै सागर
    फारी दुस्तर वायुमण्ल, बुझी आकाशको अन्तर ।
    ज्योतिश्चक्र पनी घुमी फनफनी, लाचार भै आखिर
    पत्ता क्यै नमिली गली गली विरहले राम्रै झुकाई शिर ।।

    हे कृष्ण ! अनाथनाथ ! भगवन् ! प्यारा कहाँ छौ भनी
    भित्री व्याकुल भावले जब तिमी मूर्छा परौला अनि ।
    बोलेथ्यौ जुन ठामबाट पहिले तत्काल त्यै ठाममा
    देख्नेछौ झलमल्ल दिव्य भगवान् साक्षात् स्वयं धाममा ।।

    लालित्य भाग १/११


    Monday, March 5, 2012

    काल महिमा - कविशिरोमणि लेखनाथ पौड्याल Kaala Mahima - Kavi Shiromani Lekhnath Poudyal


    काल महिमा
    (Kaala Mahima)
    -कविशिरोमणि लेखनाथ पौड्याल (Kavi Shiromani Lekhnath Poudyal)

    भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो
    इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।
    थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो
    खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।

    राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो
    आयो, टप्प टिप्यो, लग्यो,  मिति पुग्यो, टारेर टर्दैन त्यो ।
    लाखैं औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो
    व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।

    आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो
    सुख्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो ।
    मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो
    हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।।

    जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
    थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।
    जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो
    यै चालासित कल्प-कल्प कहिल्यै खाई अघाउन्न त्यो ।।

    लालित्य भाग १/३१




    अन्य पृष्ठ (Other Pages)